काठमाडौं, १ मंसिर । अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ १ उत्तिकै पीडादायी ।
०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो ।
त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु १’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् । कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखको छ ।