काठमाडौं, १६ असोज । काठमाडौंको मुटुमा रहेको खुला मञ्च विभिन्न वहानामा अतिक्रमणमा पर्दै आएको छ । भूमाफिया र प्रशासनसँगको साँठगाँठका कारण खुला मञ्चमा अतिक्रमण बढ्दै गएको हो । खुल्ला मञ्च संरक्षणको जिम्मेवारी पाएको काठमाडौं महानगरपालिकाले हालसम्म भएका अतिक्रमण हटाउने र व्यवस्थापन गर्ने विषयमा कुनै चासो नदिँदा यस्तो समस्या आएको हो ।
‘खुला मञ्च बचाऊ’ अभियानका संयोजक सुशन वैद्य करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको खुला मञ्च विभिन्न रूपमा अतिक्रमणमा परेको बताउँछन् । खुला मञ्चलाई सरकारले खुला स्थानका रूपमा राख्न नसकेको उनी बताउँछन् । ‘विपद्का समयमा प्रयोग हुने स्थान सरकार र निजी क्षेत्रको कारण अतिक्रमणमा परेको छ’, उनले भने । खुला मञ्चमा बनेको बसपार्कमा टहरा बनाई जग्गा अतिक्रमण भएको दुमाजु गुठी अतिक्रमणमा परेको तथा शौचालय व्यवस्थापनका नाममा फैलँदै गएको व्यापार व्यावसायका कारण खुला मञ्च अतिक्रमणमा परेको वैद्यको भनाइ छ ।
यता महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी विभिन्न वहानामा खुला मञ्चको अतिक्रमण बढ्दै गएको स्विकार्छिन् । खड्गी भन्छिन्, ‘एउटा उद्देश्य लिएर खुला मञ्चका जग्गा र सटर भाडामा लिने गरेको र यसबाट विस्तारै अतिक्रमण गर्ने गरेको देखिन्छ ।’
‘यसले सहरी सौन्दर्यतालाई समेत असर गरेको छ । भएका सार्वजनिक शौचालयसमेत ओझेलमा पर्ने गरेका छन् । मैले पटकपटक यस विषयमा नगरसभामा आवाज उठाएको छु,’ खड्गीले भनिन् । उनी नगर प्रमुख शाक्यले यस विषयमा कुनै चासो नदिएको आरोप लगाउँछिन् । यसले सहरी सौन्दर्यतालाई कुरूप बनाएको छ उनी भनिन् । एक उद्देश्यका लागि खुला मञ्चका स्थान उपयोग गर्ने भनिए पनि अन्ततः अतिक्रमणको उद्देश्य बोकेको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।