प्रधानमन्त्रीको गुनासो : सरकारले गरेका राम्रा कामको समेत चर्चा भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

प्रधानमन्त्रीको गुनासो : सरकारले गरेका राम्रा कामको समेत चर्चा भएन

pm oli

सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा समेत नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि मुलुकमा देखिएको उल्लेख गर्दै असन्तुष्टि जनाउनु भएको हो ।

सोमबार ललितपुरको भैंसिपाटीस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उहाँले सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएपनि त्यसको चर्चा समेत नगरिएको गुनासो समेत गर्नु भयो ।

‘केही पनि भएन भनेर, केही पनि भएको छैन भनेर निरासा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘ननइस्यू’लाई ‘इस्यु’ बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दावी पनि गर्नु भयो । उहाँले मोतीहारी–अमलेखगंज पेट्रोलियम पदार्थको पाईप लाईन विस्तार गरिएको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाई भएको उहाँको स्पष्टिकरण थियो ।

प्रधानमन्त्री ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने पनि बताउनु भयो । सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खवर गर्न पनि प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल छ ।

उहाँले देशलाई छिट्टै भिखमंगामुक्त बनाउने घोषणा पनि गर्नु भयो । प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गर्नु परेको पनि स्पष्ट पार्नु भयो । उहाँले ललितपुरको सैवु आवास क्षेत्रमै केही समय भित्रै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य पनि सुरु हुने बताउनु भयो ।

सरकारले चालू आर्थिक वर्ष भित्रै स्टेट गेष्ट हाउस, सभाहल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई पनि सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यस अघि प्रधानमन्त्री ओलीले ३ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गर्नु भएको थियो ।