काठमाडौँ, १७ भदौ । हरितालिका तीजका दिन व्रतालु महिलाको भीड वसन्तपुरस्थित मखन महादेवको मन्दिरमा पनि उस्तै रह्यो । राजधानीको मध्य भागमा रहेको हुनाले पनि यहाँ आउन र फर्कन सहज रहेकाले राति २ बजेदेखि नै श्रद्धालु महिलाको भीड बढेको हो ।
बालबालिका, ज्येष्ठ नागरिक र महिला पशुपतिनाथको मन्दिर प्रवेश गर्न लामो समय लाइनमा बस्नुपर्ने, भीडले अप्ठेरो हुने र बिरामीसमेत हुने गरेका छन् । “आमालाई पनि अप्ठेरो नहोस् भनेर यहाँ लिएर आएकी हुँ,” स्वयम्भूकी रोजिना थापाले भन्नुभयो, “भगवान् जहाँ पनि उही हुन्, यहाँ पनि महादेवकै पूजा गरिने हो ।”
पशुपति जत्तिको नभए पनि करिब एक घन्टा लाइन भने बस्नुपरेको आमा बिन्दा थापाले जानकारी दिनुभयो । पशुपति जत्तिको टाढा नभएकाले आफूहरू मखन महादेवको पूजा गर्न आएको मुना मैनाली र कमला मैनाली बताउनुहुन्छ । “कहिलेकाहीँ उता जाने हो, सधँै नजिकको तीर्थ हेला गर्नु त भएन नि,” कमला मैनालीले थप्नुभयो ।
भेडासिं चोककी सङ्गीता सुवेदी आफ्ना दुई बच्चासहित मन्दिरमा भेटिनुभयो । उहाँका साथमा बहिनी पवित्रा गौतम र उहाँकी एक वर्षकी छोरी पनि साथै थिए । “पशुपतिमा बालबच्चा धेरै नै बिचल्लीमा पर्ने, हराउने गरेकाले मखन महादेव मन्दिर आएको सङ्गीताले बताउनुभयो । “बच्चा भएका महिलालाई पशुपतिको लाम कुर्न गाह्रै हुन्छ,” उहाँ भन्नुहुन्छ, “यहाँ लाइन सानो छ, बैनी र म पालैसँग दर्शन गर्न र पूजा गर्न पाइहाल्छौँ ।” याे समाचार गाेरखापत्रमा देैनिकमा छ ।