आज महाशिवरात्री, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज महाशिवरात्री, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइदै

काठमाडौं,२५ फागुन । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भिड लागेको छ । भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेस्वर महादेव लगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा

आराधनाका लागि पुग्नुभएका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ । महाशिवरात्रिका अवसरमा आज बिहान २ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । महाशिवरात्रि पर्व व्यवस्थितरूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ । उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई सञ्चालन गरेको छ । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ । भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना सवयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);