काठमाडौँ, २३ भदौ । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ नखुलाउने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहिबारदेखि अग्रिम टिकट बुकिङ खुलाउन भदौ १६ गते व्यवसायी र यातायात व्यवस्था विभागबिच सहमती भएपनि व्यवसायीले टिकट बुकिङ नखुलाएकाले विभागले कारवाही गर्ने बताएको हो ।
व्यवसायीले भाडा बढाउन र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ खुला नगरेका हुन् । विभागले व्यवसायीलाई टिकट बुकिङ खुलाउन लिखित निर्देशन दिने र त्यसको अटेर गर्नेलाई जरिवानादेखि रुट इजाजत खारेज गर्ने सम्मको कारबाही गर्ने जनाएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले व्यवसायीले यसअघि गरेका सहमति पनि कार्यान्वयन नगरेकोले पुनः वार्तामा बस्नुको औचित्य नरहेको बताएका छन् ।
विभागले प्याब्सन, सरकारका ठूला सवारीसाधन तथा साझा यातायात प्रयोग गर्ने वैकल्पिक व्यवस्थाको विषयमा छलफल गरिरहेको जानकारी दिएको छ ।




