ललित सिंह
बझाङ, २५ साउन । अति विकट जिल्लाको रुपमा रहेको बझाङ्ग जिल्लाको पनि बिकट मानिने बुङ्गल नगरपालिकामा अहिले विकासका संकेतहरु देखिन थालेका छन् । लामो समयपछि स्थानीय सरकार गठन भए यता जिल्लाको साथै नगरपालिकाका वडाहरुमा सडक सञ्जाल जोडिएको छ । सडक बनेसँगै स्थानीय जनतामा खुशी छाएको छ ।
जिल्लाको पनि विकट ठाउँकै रुपमा लिइन्थ्यो बुङ्गल नगरपालिकालाई । पहिले पहिले यहाँको एक वडाबाट अर्काे वडामा पुग्न पूरै एक दिन हिंड्नु पथ्र्यो । तर अहिले त्यो अवस्था छैन ।
निर्वाचित स्थानीय सरकार बने यता नगरपालिकामा विकासको कामले तिव्रता लिएको छ । नगरपालिकाको ११ वटै वडालाई जोड्ने गरी सडक सञ्जाल विस्तार भएको छ । सडक निर्माण भएसंगै स्थानीय रुटमा जीप चल्न थालेपछि स्थानीयवासिन्दालाई आवतजावत गर्न निकै सजिलो भएको छ । सडक जोडिएसँगै छाउपडी प्रथाको पनि अन्त्य हुँदा स्थानीय वासिन्दा अहिले खुशी छन् ।
नगरपालिका भित्र सडक सञ्जाल बनेसंगै नगर बाहिर जाने सडकहरु पनि धमाधम बनिरहेको छ । खेल मैदान, वर्थिङ सेन्टर, विद्यालय भवनहरु पनि धमाधम बनिरहेका छन् । नगरपालिकाको सीमित रकमले ठुलो काम भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । बाटो बनेसंगै पर्यटन प्रबद्र्धनको सम्भावना पनि बढेको छ ।
नगरपालिकाबाट बाहिर जिल्ला जोड्ने बुङ्गल–बित्थड सडक निर्माण भैसकेको छ । जनप्रतिनिधिको स्थानीय सरकार बनेपछि नगरपालिकामा जडिबुटी प्रशोधन केन्द्र, प्रााविधिक शिक्षा संञ्चालनमा रहकोे छ । विकासको काम क्रमश अघि बढ्दा सर्वसाधरण जनता मात्र होइन स्वयं जनप्रतिनिधि नै पनि अहिले दंग छन् ।
बुङ्गल नगरपालिकालाई बझाङकै नमुना नगरपालिका बनाउने तयारी थालिएको छ । सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय क्षेत्रको पनि विकास हुने आश स्थानीयमा छ । बड्डी ज्यावन, थानपाटन, पुरुङचुली, खोल्लेकपाटन, २२ धारा लगायतका क्षेत्र यहाँको मुख्य पर्यटकीय क्षेत्र हुन् ।
संरक्षण र प्रचार प्रसारको अभावमा रहेका विकट ठाउँका यी पर्यटकीय क्षेत्रमा सडक संजाल जोडिएसँगै अब स्वदेशी तथा विदेशी पर्यटक पनि पुग्ने स्थानीयको विश्वास छ ।