बढ्दै छ विप्लव समूह छाड्ने लहर | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

बढ्दै छ विप्लव समूह छाड्ने लहर

biplov

काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको जेठ १९ गते नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का पोलिटब्युरो सदस्य एवं पूर्वराज्यमन्त्री पदम राईलाई पार्टीमा प्रवेश गराउँदै भन्नुभयो, “ढिलो चाँडो विप्लव पनि यसैमा (नेकपामा) प्रवेश गर्नुपर्छ । अरू विकल्प छैन । ’’

उहाँले थप्नुभयो, “म अन्य साथीहरूलाई कुनै पूर्वाग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु । आउनुस् बसेर छलफल र संवाद गराँै । ” यसरी उहाँले आह्वान गरेको दुई महिना बितेको छ र पहिलो पटक होइन । तत्कालीन माओवादी केन्द्रबाट मोहन वैद्य किरण र त्यसबाट नेत्रविक्रम चन्द अलग भएको बेलादेखि नै उहाँले यस्तो विचार राख्दै आउनुभएको छ ।

उहाँले गरेको आह्वानअनुसार ती दलहरूबाट विस्तारै विस्तारै नेता तथा कार्यकर्ताहरू नेकपामा प्रवेश पनि गर्दै छन् । सरकारले २०७५ फागुन २८ गते विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि त झन् सो समूहबाट पार्टी छाडेर नेकपामा प्रवेश गर्ने लहर नै चलेको छ । सो समूहका आधाभन्दा बढी कार्यकर्ता तथा नेताहरू नेकपामा आइसकेका छन् ।

सो समूहका धेरै नेता पक्राउ परिसकेका छन् र सोहीअनुसार नेकपामा प्रवेश गर्नेको लहर चलेको छ । यी दुइटा कारणले विप्लव समूह कमजोर भइसकेको विश्लेषणसमेत भइरहेको छ । बाँकी रहेका नेता तथा कार्यकर्ता पनि नेकपामा आउने तयारी भइरहेको नेताहरूको दाबी छ । साउन १४ गते दुबई उड्नुअघि नेकपा अध्यक्ष प्रचण्डले विप्लव समूहका आठ जना नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउनुभयो । आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी उहाँले विप्लव समूहका ब्युरो सदस्य तथा बारा जिल्लाका पूर्वसचिव रमण घिमिरेलगायत आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दीपकुमार कार्की, नमराज शर्मालाई प्रवेश गराउनुभयो ।

त्यसैगरी असार २६ गते सो समूहका मेची–कोसी ब्युरो इन्चार्जसहित नेता तथा कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने र परिस्थितिको आवश्यकताअनुसार संसारलाई नयाँ समाजवादको मोडेल दिनेछौँ । ” नेकपामा प्रवेश गर्नुभएका मेची–कोसी ब्युरो सदस्य तथा झापा ब्युरो इन्चार्ज सौगात आचार्यले विप्लव समूह गलत बाटोमा हिँडेका कारण आफूहरू सो पार्टी त्यागेर पुरानै पार्टीमा फर्केको बताउनुभयो । “हतियार उठाएर समाजवाद आउन सक्दैन” भन्दै उहाँले नेकपाले नै देशमा परिवर्तन ल्याई समाजवाद स्थापना गर्ने बताउनुभयो ।

जेठ २० गते विप्लव समूहका प्रवास ब्युरो ३ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य ललित ताम्राकार (अभियान) नेकपा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले स्वागत गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।