टिका खतिवडा
इलाम, ७ साउन । इलामका कार्यालय सहयोगी देव तिखत्रीले अमिन तथा सर्वेक्षकको काम गर्ने गरेको पाईएको छ । केही दिन अघि इलाम नगरपालिका ९ गोलाखर्कका प्रेम चौहान र नेत्रकला अधिकारी चौहानको जग्गा उनैले नापेका थिए ।
उनले छ आना भनेर नापिएको जग्गा पछि साढे पाँच आना मात्र पुष्टि भएपछि खैलाबैला मच्चिएको छ । प्रेम र नेत्रकलाले एक स्थानीय छत्रकुमारी कट्टेललाई जग्गा विक्रि गर्नका लागि मालपोत कार्यालय आउँदा सो कुरा खुलेको हो ।
कार्यालयमा आउँदा आफैँ अमिन भन्दै तिखत्रीले नाप्न आउने भनी नाप्न गएको र अहिले जग्गाको क्षेत्रफल नमिलेको बताइन् । जग्गा नापेवापत देव तिखत्रीले कुनै रसिद नदिई चार हजार रुपैँया लिएका थिए ।
जग्गा खरिदकर्ता कट्टेलले नाप्नमा गल्ती भएका कारण मालपोतबाट काम हुन नसकेकाले आफुहरु झन्झट ब्यहोर्नु परेको बताइन् । कार्यालय सहयोगी देव तिखात्रीले भने आफुले गल्ती नगरेको बताउँदै आएका छन् ।
हाल इलाम नगरपालिका ९ गोलाखर्क साविक इलाम नगरपालिका भित्रै पर्दछ । त्यहाँ अमिनले नापेवापत नौ सय १६ रुपैँया लिन पाइन्छ । तर कार्यालय सहयोगी तिखत्रीले भने ४ हजार लिएका छन् । यता नापी कार्यालय इलामका प्रमुख सुमन बिक्रम पन्तले भने यो सरासर गल्ती भएको स्विकार्नु भयो ।
यसरी कार्यालय सहयोगीले नै अमिनको काम गर्न थालेपछि अमिन विषय खर्च गरि गरि किन पढ्ने ? अनी जान्दै नजानेको मान्छेले यस्तो काम गरेर सेवाग्राहीलाई सास्ती भएको छ यसको क्षतिपुर्ती कसले दिने ?