काठमाडौं, २९ असार । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आईतबार बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा भएको मानबीय तथा भौतिक क्षतिका वारेमा समितिलाई जानकारी गराउनुभएको थियो ।
तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएका छन् ।