सम्झौता नगर्ने भूकम्पपीडित अनुदान सूचीबाट हट्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सम्झौता नगर्ने भूकम्पपीडित अनुदान सूचीबाट हट्दै

bhukampa

काठमाडौं, ५ असार । सम्झौता गरेर पहिलो किस्ता नबुझी बसेका भूकम्पपीडित सरकारी सहुलियत अनुदानबाट बञ्चित हुने भएका छन् ।सरकारले असार मसान्तसम्म पहिलो किस्ता नलिने भूकम्पपीडितको नामावली लाभग्राही सूचीबाट हटाउने जनाएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ६० हजारभन्दा बढी लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गर्न बाँकी नै छ । असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता नलिए उनीहरू सुविधाबाटै बञ्चित हुने भएका छन् ।

प्राधिकरणका अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ लेमात्र अनुदान सम्झौता गरेका छन् । ६० हजार १६ लाभग्राही सूचीमा परेका भूकम्पपीडितले अनुदान सम्झौता गरेर पहिलो किस्ता लिन बाँकी छ ।

प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आगामी २१ असारभित्र अनुदान सम्झौता गरी मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले असार मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्र्रस्ट पारे ।

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्पप्रभावित लाभग्राही बने पनि सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नुपरेको प्राधिकरणले जनाएको छ । भूकम्पप्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ ।

सहप्रवक्ता घिमिरले अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई असार मसान्तभित्र पहिलो किस्ताबापतको रकम लिइसक्न आग्रह गरे ।

अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन्् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ ।

निजी आवास अनुदानको पहिलो किस्ताबापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन्् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरू दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन्् । निर्माण सम्पन्नसँगै थप ५० हजार गरी ३ लाख अनुदान पाउने व्यवस्था छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);