काठमाडौं, १२ जेठ । सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ । घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ ।
घटनास्थल मिक्लाजुङ–३ को आरुबोटे र आसपासका क्षेत्रको स्थलगत अनुसन्धान, हत्यामा प्रयोग भएका सामग्री संकलन, छिमेकी, आफन्तलगायत विभिन्न व्याक्तिसँगको सोधपुछ तथा प्राविधिक परीक्षणमा प्रहरी जुटेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।