तेजना पण्डित
काठमाडौं, ४ जेठ । सरकारले तरकारीमा आत्मनिर्भर हुने र पाँच बर्षमा तरकारी उत्पादन दोब्बर बनाउने नीति अघिल्लो वर्ष नै सार्वजनिक गरेको हो । तर, सरकारको नीति नारामा मात्र सिमित हँुदा बार्षिक १४ देखि १६ अर्वसम्मको तरकारी भारतसहित विभिन्न देशवाट आयात हुने गरेको छ ।
बजारमा तरकारीमा भएको चर्को मूल्यबद्धि आम उपभोक्तका लागि टाउको दुखाई बनिरहेको छ । दैनिक भान्सामा नभइ नहुने तरकारीको मुल्य आकासिएर गोलभेंडाको मूल्यमा समेत दोब्बर बढि बृद्धि भइ इतिहासमै एकसय ५० रुपैयाँ पुग्दा समाजिक संजालमा समेत यसले दुख देखि व्यंग्यका रुपमा चर्चा पाएको थियो ।
तरकारीमा आत्मनिर्भण् बन्ने घोषणा गरेको सरकार भने यस्तो अवस्थामा बजारलाई व्यवस्थित मात्र गर्नसमेत सफल हुन सकेन । थोकबजार भन्दा धेरै बढि रकममा किनबेच हुँदा समेत सरकारले मूल्य स्वभाविक बनाउन सकेन । त्यसैले उभोक्तामा निराशा छाएको छ ।
मूल्यबृद्धिमा उपभोक्ताका आक्रोसको तारो विक्रेता हुने गरेपनि उनीहरु तरकारी उत्पादन र आयातमा मूल्यबृद्धि हुने गरेको भन्दै मूल्य बढ्दा र घट्दा आफूहरुले लिने फाइदा बराबर रहेको बताउँछन् । प्रतिकुल मौसमका कारण उत्पादनमा कमि आएको र अधिकांस तरकारीहरु भारतबाट आयात गर्नुपर्ने हुँदा बाध्यताले महंगो भएको उनीहरको बुझाई छ ।
कृषि प्रधान देशको परिचय भएको हाम्रो देशमा करिव ६५ प्रतिशत जनसंख्या अहिले पनि कृषिमै निर्भर छ । तर पनि, देशको आन्तरिक उत्पादनले कृषिजन्य बस्तुमा समेत आत्मनिर्भर बन्न नसक्दा बर्षेनी खर्वौको आयात हुने गरेको छ ।
नेपालमा उत्पादन हुने काउली, बन्दा लगायतका केहि तरकारीमा आत्मनिर्भर भए पनि अधिकांस तरकारी अन्य देशको आयातमा भर पर्नुपर्ने अवस्था छ । आन्तरिक उत्पादनले बजारको माग धान्न नसक्दा तरकारीमा मात्र बार्षिक १४ देखि १६ अर्व रुपैयाँ बाहिरिने गरेको छ ।
सरकारले देशलाई तरकारीमा आत्मनिर्भर बनाइ आगामी पाँच बर्षमा दोव्वर उत्पादन गर्ने नीति गत आर्थिक वर्ष मै घोषणा गरेको हो । घोषणा स्वागतयोग्य भएपनि कार्यान्वयनमा परिणाम नआउँदा त्यसले सरकारको नीतिलाई नै गिज्याइरहेको छ ।
देशको करिव ३५ लाख हेक्टर जमिन खेतियोग्य भएपनि करिव १५ लाख हेक्टरमा मात्र सिंचाई सुविधाको पहुँचमा हुनु, खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने बाध्यता र युवापुस्ताको कृषि पेशा प्रतिको विकर्षणले तथा बैदेशिक रोजगारी प्रतिको आकर्षणले भएको खेतियोग्य जमिन समेत बाँझै बस्ने अवस्था छ । यसले कृषि क्षेत्रमा राज्यका तहबाटै केही नामुना काम गर्नुपर्ने र नागरिकमा उत्साह भर्नुपर्ने आवश्यकता देखाएको छ ।