कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह

काठमाडौं, ३० वैशाख । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह गर्नु भएको छ । मन्त्री खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन चीन सरकारसँग आग्रह गर्नु भएको हो ।

सोमबार चाईन गन्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवर्द्धन केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले चीन सरकारले यस अघि संचालनमा ल्याएको विभिन्न कारखाना पुनः संचालन गर्ने विषयमा पनि चीनसँग सहयोगको अपेक्षा गरिएको स्पष्ट पार्नु भयो । मन्त्री खनालले चीनको आर्थिक सहायतामा नेपालको कृषि क्षेत्रले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै चीनको गन्सु प्रान्तका गभर्नर ताङ्ग रेन्जियानले नेपालमा स्रोतहरुको पहिचान गरी लगानी गर्न आफूहरुले चाहेको बताउनु भएको थियो । उहाँले नेपालसँगको सम्बन्ध विकास गरेर यहाँको व्यवसायमा लगानी गर्न आफ्नो प्रान्त तयार रहेको पनि बताउनु भयो । गभर्नर रेन्जियानले नेपालमा व्यवसाय संचालनका लागि आवश्यक सहकार्यमा आफ्नो प्रान्तले जोड दिएको पनि स्पष्ट पार्नु भयो ।