चितवन, १५ बैशाख । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दश महिना पुग्न लाग्यो। गएको साउन महिना भएको घटनापछि दोषीलाई कारबाही र न्यायको माग राख्दै देशैभर विरोध कार्यक्रमहरू भए। निर्मलाका अभिभावक न्यायका लागि अनसनसमेत बसे। त्यही समय बुबा यज्ञराजलाई उपचारका लागि काठमाडौं लगियो। छोरीको हत्यारा र दोषीलाई कारबाही गर्न लडिरहेका उनलाई उपचार गर्न काठमाडौं ल्याउँदाको दृश्य त्यो समयमा भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुरका बरुणबाबु घिमिरले टेलिभिजनमा हेरिरहेका थिए।
पेशाले चित्रकार बरुणलाई त्यो दृश्यले निकै छोयो। उनले त्यो दृश्यलाई जल रंगमार्फत चित्रमा उतारे। ‘निर्मलाको बाबा बिरामी भएर काठमाडौं लैजादै गरेको समाचार टेलिभिजनमा हेरेँ’, उनले भने, ‘त्यसको भोलिपल्ट नै चित्र कोरेँ।’
न्यायको लागि गरिएको लामो लडाइँको त्यो घटनाले उनको मन विचलित बनाएको थियो। चित्र कोरेपछि उनलाई फरक आत्मसन्तुष्टि मिल्यो। गएको मंसीर २५ गते उनले त्यो चित्र तयार गरेका थिए। चित्र पुरा गरिसकेपछि सामाजिक सञ्जालमा शेयर गरे। तत्कालै त्यो तस्बिर धेरैजनाले शेयर गरें। सयौंले फेसबुकमा प्रोफाइल तस्बिर पनि बनाए।
अझै पनि केहीको प्रोफाइल तस्बिर उनले बनाएको तस्बिर नै रहेको छ। यो नै धेरै शेयर र धेरैले मन पराएको तस्बिर बनेको घिमिरे बताउँछन्। तस्बिरमा उनले निर्मलासँगै बाबु यज्ञराजको तस्बिर बनाएका छन्। निर्मलाको तस्बिरलाई उनले हल्का निलो रङमा उतारेका छन्। बाबुको तस्बिरमा केही चहकिलो रङ प्रयोग गरेका छन्। निर्मलाको मृत्यु भइसकेकाले उनलाई स्वर्गमा रहेको आभाष गराउन छायाँमा तस्बिर बनाईएको छ। सँगै चरा उडिरहेको चित्र पनि छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




