काठमाडौं, २८ चैत । यातायात व्यावसायीहरुले सरकारले विभिन्न वहानामा यातायात व्यावसाय र तीनमा आश्रित श्रमिकको हक हित विपरितका निर्णय गर्दै गएको आरोप लगाएका छन् । राजधानीमा बिहिबार आयोजित विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको बार्षिक साधारणसभामा उपस्थित यातायात व्यवसायीहरुले सरकारले सिण्डिकेटको नाममा नीजी क्षेत्रलाई टाट पल्टाउने काम गरेको आरोप लगाए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कानुनको नाममा सरकारले यातायात क्षेत्रमा नकरात्मक असर पुग्ने गरि निर्णयहरु गर्दै गएको समेत बताए । उनले नीजी सवारी साधनले यात्रु बोक्न दिएर तथा सुविधाको नाममा टुटल र पठाओ जस्ता संस्थालाई निर्वाध काम गर्न दिनु गलत भएको टिप्पणी गरे ।
कार्यक्रममा सत्तारुढ दल नेकपाका सांसद रामनारायण विडारीले कम्पनीमा गएर समग्र यातायात व्यवसाय र तीनमा आश्रित श्रमिकहरुलाई नै लाभ पुग्ने भन्दै इमान्दार र व्यवसायिक बन्न यातायात व्यवहायीहरुको गम्भीर ध्यानाकर्षण गराए ।
उनले यातायात व्यवसायीहरुले गैह्र नाफामुखी र मुनाफारहीत कम्पनीका रुपमा व्यवसायलाई दर्ता गर्नु गतल भएको टिप्पणी गरे । यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नियम र मर्यादामा रही काम गर्न व्यवसायीलाई सचेत गराए ।




