स्वरूप फेर्दै सिंहदरबार | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

स्वरूप फेर्दै सिंहदरबार

Singhadurbar

काठमाडौं, १८ फागुन । सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।

हटाइँदै पुराना सवारीसाधन
सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेजजस्तो लाग्छ । मन्त्रालयपरिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर, अब सरकार व्यवस्थापनतर्फ लागेको छ ।

अब रक्षा मन्त्रालय १०५ कोठे भव्य भवनमा
रक्षा मन्त्रालयका लागि बनिरहेको १०५ कोठे भव्य भवन ‘फिनिसिङ’को चरणमा छ । १९ करोड ३३ लाख लागतमा डाँफे समानान्तर जेभी कन्स्ट्रक्सनले सम्झौता गरिएभन्दा आधा समयअघि नै संरचना तयार गरेको हो । तीन वर्षमा भवन निर्माण सक्ने गरी गत ३ असारमा डाँफेसँग सम्झौता भएको थियो । आगामी ६ महिनाभित्र भवनमा मन्त्रालय बस्न सक्ने संघीय सचिवालयका सिनियर डिभिजन इन्जिनियर अमरबहादुर थापाले बताए ।

रक्षा मन्त्रालयको नयाँ भवननजिकैको खाली जग्गामा महिला बालबालिका मन्त्रालय र श्रम मन्त्रालयका लागि पनि भवन बनाउने तयारी छ । सिंहदरबार पुनर्निर्माण गुरुयोजनाअन्तर्गत यी भवन निर्माण गर्ने सरकारको योजना छ ।

झाडी फाँडेर मैदान
परराष्ट्र मन्त्रालयपछाडिको झाडी फाँडेर मैदान बनाउने काम भइरहेको छ । गृह मन्त्रालयको पश्चिमतर्फको चौर पनि सम्याइँदै छ । त्यस्तै, पुराना अस्थायी टहराहरू पनि भत्काइँदै छन् ।

सिंहदरबारको इतिहाससहितको म्युजियम
मुख्यसचिव नेतृत्वको उच्च अधिकारीको बैठकले संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयसँग समन्वय गरी सिंहदरबारको इतिहाससहितको म्युजियम (संग्रहालय) बनाउन निर्देशन दिएको थियो । निर्देशनअनुसार सफाइ अभियानसँगै संग्रहालय निर्माणको योजना बन्ने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए ।

यो खबर आजको नयाँ पत्रिकामा दैनिकमा प्रकाशित छ ।