काठमाडौं, १० फागुन । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारवाही हुन नसकेको ,सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि काम हुन नसकेको लगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सांसद डिला संग्रौलाले पाठकले सार्वजनिक रुपमा घुस लिएको भिडियो ४ महिना अघि प्रधानमन्त्री कार्यालयमा पुगे पनि कारवाही नगरेकोप्रति प्रश्न गरिन् । सांसद दिव्यमणि राजभण्डारी भूतपुर्व गोर्खा सैनिकहरुको समस्याका बारेमा वार्ता टोली गठन गरि बेलायत सरकारसंग छलफल गर्न माग गरे ।
सांसद देव प्रसाद गुरुङले तनहु लम्जुङ र मनाङमाका निर्माणाधिन सडकको काम अवरुद्ध भएको भन्दै तत्काल सुचारु गराउन सरकारको ध्यानाकर्षण गराए । त्यसैगरी सांसद धर्मशिला चापागाईँले सबै सांसदलाई समान व्यवहार गर्दै सबै सांसदले खर्च गर्ने गरि बजेटको व्यवस्था गर्न माग गरिन्।
पुष्पा भुसासले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रमुख प्रतिपक्षी दलले स्वीकार नगरेको भनेर भ्रम श्रृजना गरिएको भन्दै निर्वाचन हुन नसक्नुको कारणबारे सदनलाई जानकारी गराउन माग गरिन्।
बैठकमा सांसद प्रदीप यादवले नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पार्टपूर्जाको टेण्डरमा १ अर्ब ५३ करोड रुपैयाको घोटाला भएको सार्वजनिक हुदा पनि त्यस तर्फ सम्बन्धीत मन्त्रालयको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।