विधान परिमार्जन गर्दै नेकपा ,नवौँ प्रदेश कमिटीको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

विधान परिमार्जन गर्दै नेकपा ,नवौँ प्रदेश कमिटीको प्रस्ताव

nekapa

काठमाडौं, ३ माघ । एकीकरणको बाँकी काम सक्ने कार्यादेश पाएको नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधानसमेत परिमार्जन गर्ने सहमति भएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो । यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकोमा अब वैज्ञानिक समाजवाद हुँदै साम्यवाद लेख्ने सहमति भएको छ । स्थायी समितिको अघिल्लो बैठकमा प्रस्तावनाबाट साम्यवाद हटाइएको भन्दै विरोध भएपछि कार्यदललाई स्थायी समितिले विधानको कतिपय त्रुटि सच्याउने कार्यादेश दिएको थियो ।

यस्तै, नवौँ प्रदेशका रूपमा काठमाडौंभित्र विशेष प्रदेश कमिटी बनाउने सहमति पनि भएको छ । युवा–विद्यार्थी, मजदुर, पेसागत र उद्यमी–व्यवसायी जिल्ला कमिटीलाई हेर्ने गरी काठमाडौंभित्र छुट्टै विशेष प्रदेश कमिटीको व्यवस्था विधानमा थप्ने कार्यदलमा सहमति भएको हो ।

विशेष प्रदेश कमिटीको ५० भन्दा बढी सदस्यको बनाउनेबारे छलफल भए पनि संख्यामा सहमति जुट्न बाँकी रहेको कार्यदलका एक नेताले बताए । नेकपाभित्र भूगोल हेर्ने सात प्रदेश संगठन कमिटी, एक प्रदेश सम्पर्क समन्वय कमिटी छन् ।

विधानसहित एकीकरणको बाँकी काम र कार्यविभाजनको गृहकार्यका लागि १२ पुसको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यादेशअनुसार थुप्रै विषयमा छलफल बाँकी रहे पनि विधानको केही व्यवस्था परिमार्जन गर्ने विषयमा भने कार्यदलमा सहमति भएको एक सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए ।

कार्यदलमा नेताहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यसबीचमा कार्यदलमा ६ पटक छलफल भइसके पनि नेताहरूको व्यस्तताले गत २४ पुसयता बैठक बसेको छैन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।