राजु प्रसाद साह
वीरगन्ज, २६ पुस । माधुरी वर्णवालको मृत्युको विषयलाई लिएर विरंगजमा विहीवार आफन्तहरुले विरोध प्रदर्शन गरेका छन् । पुष १८ गते नेपालगंजमा मृत्यु भएकी माधुरीको हत्या गरिएको भन्दै माईती पक्षले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।
मृतक माधुरीका बुवा बेदप्रकाशले घटना भएको ९ दिन भईसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेकोको भन्दै दबाव स्वरुप आन्दोलनमा उत्रिनु परेको बताए ।
माधुरीको २०७४ मंसिरमा नेपालगञ्जमा मनिश चन्द्र बर्णवालसंग विवाह भएको थियो । माइती पक्षले दाईजो लगायतका विषयमा छोरीलाई वारम्वार टर्चर दिएको र उनको मृत्यु त्यही कारण भएको हुनसक्ने आरोप छ ।
आफन्तहरुले छोरीको हत्यारा पत्ता नलागेसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन् । पछिल्लो समयमा तराईमा दाईजो लगायतका विषयलाई लिएर बुहारीलाई अनावश्यक टर्चर दिने चलन अझै व्याप्त छ । यो घटना पनि त्यसैको कारण हुन सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाका विषयमा सुक्ष्म रुपले अनुसन्धान गरिरहेको बताएको छ । यद्यपी उनको मृत्युको कारण खुलेको छैन ।