काठमाडौं, १९ पुस । सरकारले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको टिप्पणी गरेको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार संचारकर्मीमाझ कुराकानी गर्दै उनले अदालतको फैसला अनुसारको कानुनी कार्वाही भने सांसद चौधरीले भोग्नु पर्ने बताए । राज्यले अदालतले गरेको निर्णय मान्नैपर्ने मन्त्री बास्कोटाको भनाई छ ।
संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कार्वाही हुन्न
मन्त्री बास्कोटाले वाईडबडि विमान खरिद प्रक्रियाका सम्बन्धमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई पनि कार्वाही नगर्ने स्पष्ट पारे ।
उनले वाइडबडि विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा पनि असन्तुष्टि व्यक्त गरे । उपसमितिको सो प्रतिवेदन समितिमा पेश भएको र सो समितिको निर्देशन आएपछि सरकारले त्यसमा आवश्यक निर्णय लिने पनि मन्त्री बास्कोटाले जानकारी दिए । उनले आरोप पुष्टि भए वार्डडबडी विमान खरिद प्रकरणको दोषीमाथि कडा कार्वाही गर्न सरकार तयार रहेको बताए ।