हुम्ला, १४ पुस । बारीमा गहुँ–जौ छरेको तीन महिना भइसक्यो । अझै टुसाएको छैन । हिमालमा अलिअलि मात्रै हिउँ छ । शुक्रबार पनि सिमकोट वरिपरि पातलो हिउँ पर्यो, बिलायो । हिउँदे बालीलाई पुग्ने जति परेन ।
हुम्लामा खेतीलाई हिउँकै भर छ । खेतबारीमा सि“चाइको व्यवस्था छैन । दर्के झरी पनि पर्न छोडेको छ । बाक्लो हिउँ परे मात्र बालीनाली फस्टाउने स्थानीय बताउँछन् । ‘बाक्लो हिउँ परेन, बारीमा गहुँ–जौ पनि उम्रेन,’ सिमकोट–७, डाँडाफायका लालबहादुर शाही भन्छन्, ‘हरियो भइसक्नुपर्ने बारी मरुभूमिजस्तो छ ।’
पाँच वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । परे पनि फासफुस मात्र हुन्छ, जमिन बेसरी भिजाउँदैन । ‘अस्ति अलिअलि हिउँपर्याथ्यो, उतिबेलै बिलायो, बारी भिजेन,’ शाहीले भने । छिट्टै हिउँ नपरे यो वर्ष हिउँदे बाली नफल्ने पीर छ उनलाई । हिउँदे बाली भएन भने हुम्लीका दुःखका पहाड झन् अग्लिँदै जानेछन् ।
बारीमा अन्न फल्न कम हुँदै गएको छ । सिमकोटस्थित नेपाल खाद्य संस्थानको डिपोमा पनि भनेजति चामल पाइँदैन । बारीमा फलेन र किन्न पनि पाइएन भने हालत के होला ? डाँडाफायकी हिराकला शाहीसँग पनि यो प्रश्नको उत्तर छैन । भन्छिन्, ‘घरमा केही भए खाने, नभए भोकै बस्ने ।’
पुसमा जति बाक्लो हिउँ पर्यो, हिउँदे बाली उति राम्रो हुन्छ । यसभन्दा ढिला हिउँ परे, बाली सप्रिँदैन । राम्रो बाली भएको वर्ष चार महिना मुस्किलले खान पुग्छ । बाँकी नौ महिना खाद्य संस्थान र नेपाल–चीन सीमा बजार हिल्साको खाद्यान्नको भर पर्नुपर्छ ।
जलवायु परिवर्तन भएपछि स्थानीयको जनजीवनमा प्रतिकूल असर परेको छ । समयमा हिउँ र पानी नपर्दा बाली सप्रिएको छैन । हिउँ कम परेका कारण पानीका स्रोत सुक्न थालेका छन् । गाईबस्तुका लागि जंगलमा पनि पर्याप्त घाँस छैन ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।