डिपीआर तयार नभई निजगढ विमानस्थल निर्माण अघि नबढाउन सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

डिपीआर तयार नभई निजगढ विमानस्थल निर्माण अघि नबढाउन सुझाव

airport nigghad

काठमाडौं, ३ पुस । राष्ट्रियसभाका सांसदहरुले बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार नभई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि नबढाउन सरकारलाई सचेत गराएका छन् ।

संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै राष्ट्रिय सभाका सांसद सुरेन्द्रराज पाण्डेले सो विमानस्थल निर्माणको काम सूरु गर्नु अघि नै स्थानीय जनताको माग सम्बोधन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । स्थानीय जनताको उचित बसोबासको व्यवस्था गरेर मात्रै सो आयोजना अघि बढाउन उपयुक्त हुने सांसद पाण्डेको भनाई छ ।

राष्ट्रियसभाकै अर्का सांसद खिमलाल भट्टराईले सो आयोजना निर्माण कार्यमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले स्थानीय जनताले पनि सो आयोजना निर्माण कार्य अघि बढाउन आग्रह गरिरहेको स्मरण गराउँदै तोकिएकै मितिमा सम्पन्न हुने गरी सो विमानस्थल निर्माण कार्य अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

आगामी ४ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो राष्ट्रिय गौरवको आयोजनाको लागत १ खरव २० अरव अनुमान गरिएको छ ।