एजेन्सी, २६ मंसिर । चिनियाँ टेलिकम तथा मोबाइल जाइन्ट हुवाईको संस्थापककी छोरी तथा कम्पनीकी प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वान्खा धरौटीमा रिहा भएकी छन् । क्यानडामा पक्राउ परेकी मेङ्गलाई स्थानीय अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनी डिसेम्बर १ मा क्यानडाको भ्यानकुभरबाट पक्राउ परेकी थिइन् । मेङ्गमाथि लगाइएको ठगीको आरोपको सुनुवाईका लागि उनलाई अमेरिकालाई सुम्पिने सम्भावना छ । हुवाई र अर्काे टेलिकम कम्पनी स्काईकमबीचको सम्बन्धकाबारेमा गम्भीर आरोप रहेको सुनुवाईको क्रममा देखिएको छ ।
हुवाई र स्काइकमले इरानमा व्यवसाय गरेको थियो । समाचार संस्था एपीका अनुसार मेङ्गले सुनुवाईको क्रममा दुई कम्पनी भिन्दा भिन्दै रहेको बताएकी थिइन् ।
तर अमेरिकाले भने हुवाई र स्काईकम सम्बन्धित रहेको बताएको छ । जसले गर्दा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हुवाईको गतिविधिले उल्लंघन भएको अमेरिकी दाबी छ ।