काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।
राजीनामा स्वीकृत नभएपछि अब वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव नलड्ने पक्कापक्की भएको छ । आइतबार बसेको बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, नेतृत्वको वीचमा आशंका हैन सुदृढ एकता कायम गर्ने र सरकारलाई पनि सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा नेतृत्वको वीचमा खुल्ला छलफल भएको र रामवीर मानान्धरको पत्रको विषयमा केन्द्रित भएर छलफल भएको बताईको छ । सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ भने नेकपाको स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।