केदार कोइराला,
विराटनगर , २६ भदौ । घरघरमा ग्यासको पाइपलाइन जडान गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले मोरङको विराटानगरस्थीत गोबरग्याँसकै भए पनि पाइपलाइन विस्तार भएको घोषणा गरे ।
तर एक महिना नपुग्दै पाइपलाइन बन्द भएपछि स्थानियले फेरी सिलिण्डर ग्याँस नै उपयोग गर्न थालेका छन् । अघिल्लो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्याँस पाइप जडान गरीदिने महत्वाकाक्षी भाषणबाट व्यंग्यका पात्र बनेका केपी शर्मा ओलीले गत भदौ ५ गते विराटनगरमा गोबरग्याँसबाटै भएपनि केही घरमा पाइपलाइन विस्तार भएको घोषणा गरे । प्रधानमन्त्री ओली स्वयमले उद्घाटन गरेका उक्त ग्याँस पाइप लाइन एक महिना नपुग्दै बन्द भएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा पाइपबाट घरघरमा ग्यास आइपुगेपछि खुसी भएका सर्वसाधरण अहिले पुन सिलिण्डरमै फर्किएका छन् ।
सिलिण्डर विस्थापन गर्ने योजना बोकेर सुरु भएको गोबर ग्यास उत्पादन बन्द भएपछि गृहीणीहरु चिन्तीत छन् । थन्क्याएको सिलिण्डर पुन झिक्नु परेपछि उपभोक्तामा निराशा छाएको हो । लोडसेडिङका कारण ग्यासको पाइपलाइन बन्द भएको श्रीकृष्ण गौसेवाले जनाएको छ । गौसेवाको ग्यास प्लान्टमा जेनेरेटर नभएको र जेनेरेटरको अभावमा पाइपबाट घरघरमा ग्यास पुर्याउने योजनामा अबरोध श्रृजना भएको उत्पादक सस्थाले जनाएको छ ।
विश्व बैंकको ८४ लाख लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइप लाइन मार्फत स्थानीयवासीको भान्सासम्म ग्यास बल्न सुरु गरेको थियो । तर यसको प्रभावकारीतामा विद्युतसेवा प्रश्न चिन्ह बनेर खडा भएको छ । निर्वाध संचालनका लागि संचालकले तत्काल विद्युतको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।