काठमाडौं, २३ भदौ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ ।
भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको बताएका थिए ।
नेपाल–चीन सम्बन्धको इतिहास आफैँमा निकै पुरानो छ र त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको महराले बताए ।
सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारका तर्फबाट सहयोग गर्न आग्रह गरे । नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपालमा कुनै पनि खालका चीन विरोधी गतिविधि नहुने बताए ।
नेपाल लामो राजनीतिक सङ्घर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ अघि बढिरहेको र सङ्घीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको छ भन्दै उनले सङ्घीय पद्धति र प्रक्रियाबारे लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्न चाहेको बताएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।
भेटमा सचिव यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिका एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताए । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजना कार्यान्वयनको तहमा रहेको भन्दै उनले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिए ।




