काठमाडौं, १५ भदौ । नेपाल टेलिकमको प्रिपेड र पोस्पेड मोवाइलको नेटवर्कमा समस्या देखिएपछि बारा र पर्साका सेवाग्राहीहरु मारमा परेका छन् । बाराको जीतपुर, सिमरा र पर्साको वीरगंज महानगरपालिकाका जनताहरु केही दिनदेखि आफ्ना मोवाईलमा देखिने नेर्टवर्क समस्याले हैरानी भएका हुन् ।
बिगत एक महिना देखि नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड मोवाईलमा यस्तो समस्या आएको प्रयोगकर्ताहरुको गुनासो छ । मोवाईलमा टावर देखाए पनि फोन गर्दा फोन नलाग्ने, कुरा गर्दा गर्दै बिचैमा काटिने, नेटवर्क फेल देखाउने, ईमरजेन्सी लेख्ने जस्ता विविध समस्या देखा परेको स्थानीय बताउँछन् ।
नेपाल टेलिकम दुरसंचार कार्यालय, सिमराका अनुसार बाराको जितपुरमा रहेको टावरलाई छेक्ने गरी घर निर्माण भएकाले यो समस्या आएको दावी गरेको छ । कार्यालयले अर्काे टावर निर्माणका लागि अहिले घर भाडामा लिने काम भईरहेको र १ महिना पछि सवै काम सम्पन्न गरी समस्या समाधान हुने नेपाल टेलिकम दुरसञ्चार कार्यालय सिमरा बाराले जनाएको छ ।
मोवाइलमा देखिएको नेटवर्कको समस्याका कारण बाराको बकुलिया, नगौल, जीतपुरको लोसन्डा, छातापिपरा र पर्साको मिलन चोक र परसवा, टेंढा, सोलकपुर लगायतका क्षेत्रका वासिन्दाहरु प्रभावित भएका हुन् ।
यस्तो समस्याका बारेमा नेपाल टेलिकमलाई वारम्वार जानकारी गराउँदा समेत सुनुवाई नभएको स्थानियको गुनासो छ । टेलिकमका अनुसार अझै यो समस्या समाधान हुन एक महिना लाग्ने देखिएको छ ।