काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिलाई नेपालमा भित्रन नदिन सरकारले कडाई गरिरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले एशीया प्यासिफिक क्षेत्रका सबै राष्ट्रहरु मिलेर सम्पत्ति शुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
मंगलबार काठमाडौंमा आयोजित एशीया प्यासिफिक क्षेत्रको सम्पत्ति सुद्धिकरणसम्बन्धि २१ को वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धिकरणको अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न जोड दिएको स्पष्ट पारे । उनले नेपाल सरकारले सम्पत्ति शुद्धिकरणकै लागि सुशासनमा जोड दिएको बताए ।
अर्थमन्त्री खतिवडाले नयाँ–नयाँ प्रविधिको उपयोग गरेर सम्पत्ति शुद्धिकरण अभियानलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरे । एशीया प्यासिफिक क्षेत्रका सम्पत्ति शुद्धिकरणका क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी भएको सम्मेलनले अवैधानिक ढंगले हुने आर्थिक कारोबारलाई निष्तेज पार्न ठोस धारणा तय गर्ने दावी गरिएको छ ।