काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवस सोमबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सोमबार बिहान कीर्तिपुर–४ स्थित चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा श्रद्धाञ्जलि तथा माल्यार्पणको कार्यक्रम राखिएको छ भने दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा स्मृतिसभाको आयोजना गरिएको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
दिउँसोको स्मृतिसभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेताको सहभागिता रहनेछ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । लामो समयदेखि विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीलाई एकिकृत गर्ने लक्ष्यका साथ नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकतापछि यसबर्ष पहिलोपटक संस्थापक महासचिवको स्मृति दिवस मनाउन लागिएको हो ।
विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा भएको थियो ।