काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि सरकारले गरेको व्यवहारप्रति चर्को विरोध गरेको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा कांग्रेसका सांसद बद्री पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनका लागि अवरोध गरेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताए । उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार क्यानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान जाँचपछि प्रहरीले कोइरालालाई नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्याएको थियो ।
कांग्रेस सांसद पाण्डेले उपकुलपतिमाथि गरिएको व्यवहार अक्षम्य भएको प्रकृतिको भएको भन्दै यस विषयमा सरकारको जवाफ माग गरे । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।