काठमाडौँ, ३ असार । संघीय संसद्को संयुक्त बैठक आइतबार बस्दै छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ४ बजे संयुक्त बैठक आह्वान गरेकी हुन् । संयुक्त कार्यसञ्चालन नियमावली पारित गर्न बैठक बोलाइएको हो ।
गत सोमबार संयुक्त बैठक बोलाइए पनि स्थगित भएको थियो । संयुक्त बैठक कसले आह्वान गर्ने भन्ने कानुनी प्रावधान नभएकाले राष्ट्रपतिमार्फत बैठक बोलाउन आग्रह भएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बताए । नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुँदा भने राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार आहवान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यलाई संयुक्त बैठकको जानकारी नै दिइएको छैन । दुवै सदन बिहान ११ बजे बस्दै छ । त्यही बेला संयुक्त बैठकको जानकारी दिइने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफल जारी छ । आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । यी मन्त्रालयको बजेटमाथि शुक्रबार छलफल हुने भनिए पनि सत्तापक्षकै सांसद मन्त्रीविरुद्ध गालीगलौजमा उत्रिएपछि बैठक सारिएको थियो । आजको कान्तिपुरमा खवर छापिएको छ ।