मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश : राष्ट्रपति भण्डारी

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन  गरेकी छन् । सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको बताइन् । अब कुनै पनि बहानामा मुलुक द्वन्द्वमा जान नहुने राष्ट्रपतिले बताएकी छन् ।

नेपालको संविधान जारी भएपछि गत मंसिर १० र २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । यसैगरी माघ २४ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा गठन भएका थिए । ती दुवै सदनको संयुक्त बैठकलाई आज राष्ट्रपति भण्डारीले सम्बोधन गरेको यो पहिलो पटक हो । संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गरेका छन् ।

बैठकमा राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् । संघीय संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बाट सुरु भएको छ ।

राष्ट्रपतिलाई स्वागत

संघीय संसद्मा सम्बोधनका लागि राष्ट्रपति भण्डारी शान्तिनगर गेटमा पुगेपछि बग्गीमा चढेर संसद भवन पुगेकी थिइन् । राष्ट्रपति भण्डारी संघीय संसद भवन पस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायत विशिष्ठ व्यक्तिले स्वागत गरेका थियो ।

राष्ट्रपतिको स्वागतका लागि संसद भवनलाई सिंगारेर दुलही जस्तो बनाईएको थियो । संसद प्रवेश द्धारमा रातो कार्पेट विछ्याउनुको साथै पुर्वी भागमा पानीको फोहोरा तथा रंगीचंगी फुलका गमलाले सजिसजाउ पारिएको थियो ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो । राष्ट्रपतिको सम्बोधनमा संबैधानिक निकायका प्रमुख, सरकारका सचिव, कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

संविधानको धारा ९५ को दफा २ मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक बर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

त्यसैगरी सोही धाराको दफा १ मा संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आव्हान गर्न सक्ने व्यवस्था छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);