काठमाडौं, २७ जेठ । सत्तारुढ दलकै सासंदले सरकार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
प्रतिनिधीसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद खगराज अधिकारीले सरकारभित्रैबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेल भईरहेको आरोप लगाए । २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउने काम भइरेको भन्दै उहाँले एकाएक विज्ञको प्रतिवेदनका नाममा उडानै भर्न नसक्ने भनिनु शंकास्पद भएको बताए ।
निर्माणको जिम्मा पाएको कम्पनीले १५ प्रतिशत काम गरिसकेको दाबी गर्दै उनले सरकारभित्रैबाट विकासविरोधी एजेण्डा घेसेको आरोप लगाए । सांसद अधिकारीले अन्तर्राष्ट्रिय उडान हुन सक्दैन भनेर प्रतिवेदन दिने मन्त्रालयको कर्मचारीमाथि कार्बाही गर्न मागसमेत गरे ।
गलत प्रचार गरेर जनताको मनमा चिसो पानी खन्याउने काम भएको भन्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा जनतालाई आश्वस्त पार्न सरकारलाई आग्रह गरे ।




