काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ ।
सरकारले संघीय संसद्को बैठकमार्फत अपरान्ह चार बजे आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको हो । बजेटमा संघ, प्रदेश र स्थानीय तहको पूर्वाधार विकास, उर्जा, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । युवाहरुलाई रोजगारीका कार्यक्रम पनि बजेटमा समेटिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा युवाका लागि नयाँ योजना राखिएको स्रोतहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको रेलमार्ग र जलमार्गको योजनाका लागि पनि बजेट छुट्याइएको बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकृतहरुले जनाएका छन् । उनीहरुका अनुसार बजेटमा जग्गाको प्लटिङ रोक्ने तथा घरजग्गाको कारोबारमा कडाइ गर्ने विषय समावेश गरिएका छन् ।
अर्थ मन्त्रालयले तयार पारेको बजेट वक्तव्यलाई अपरान्ह बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत सार्वजनिक गर्नेछन् ।