काठमाडौं, २५ बैशाख । सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका जारी गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्देशिका स्वीकृत गरी जारी गरेको हो । निर्देशिकाअनुसार विदेशी रोजगारदाता कम्पनीले नेपाली श्रमिकको माग गर्दा अब सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनु पर्नेछ । नेपाली नियोगबाट प्रमाणीकरण गराउने व्यवस्थासँगै कामदारमाथि हुँदै आएको ठगी नियन्त्रण हुने विश्वास गरिएको छ ।
अहिले म्यानपावर कम्पनी र रोजगारदाताले ल्याउने मागपत्रको प्रमाणीकरण सम्बन्धित देशका स्थानीय चेम्बर अफ कमर्स र नोटरी पब्लिकले गर्दै आएका छन् । कतिपयले कम्पनीले दिनेभन्दा बढी सेवासुविधा राखेर नक्कली मागपत्र बनाएरकामदारलाई ठगी गर्दै आएका थिए । बैठकले कारागारसम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न दुई दिने नेपाल भ्रमणको कार्यक्रम पनि स्वीकृत गरेको छ ।