अन्जना तिमलसिना
काठमाडौं, १४ बैशाख । नेपालमा औषधि उत्पादन हुन थालेको चार दशक पूरा भइसक्यो । तर, अझै मागअनुसार उत्पादन हुन सकेको छैन । जसका कारण कतिपय क्षेत्रका नागरिकले औषधिको चरम अभाव झेल्नुपरेको छ । केही वर्ष बन्द भएर पुनः संचालनमा आएको सरकारी कम्पनी नेपाल औषधि लिमिटेडले मागको १० प्रतिशत पनि औषधि धान्न सकेको छैन ।
अहिले नेपालमा खपत हुने औषधिमध्ये ४६ प्रतिशत स्वदेशी उद्योगले उत्पादन गर्छन् । ५४ प्रतिशत औषधि विदेशीको भर पर्नुपर्ने बाध्यता छ । आयात हुनेमध्ये ५२ प्रतिशत भारत र दुई प्रतिशत अन्य मुलुकबाट आउँछ । विशेषगरी भ्याक्सिन, बायोटेक्नोलोजी प्रडक्ट, क्रिटिकल केयरलगायत अत्यावश्यक औषधि विदेशबाटै आयात हुन्छ ।
राष्ट्रिय औषधि नीति २०५१ ले तयार गरेर सरकारले नेपाली औषधि उद्योगलाई राष्ट्रिय प्राथमिकता सूचीमा राखी १० वर्षभित्रमा ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, दुई दशक पूरा हुँदा पनि स्वदेशी उद्योगले ४६ प्रतिशत मात्र स्वदेशी बजारको माग धान्न सकेको छ ।
सरकारी स्वामित्वमा रहेको एकमात्र नेपाल औषधि लिमिटेडले अहिले जीवनजल तथा सिटामोलको उत्पादन गरिरहेको छ । तर, त्यसले मागको १० प्रतिशत पनि पूरा गर्न सकेको छैन । कम्पनीले गत असोजबाट सिटामोलको उत्पादन सुरु गरेको हो ।
विक्रम सम्बत २०६७ सालमा विश्व स्वास्थ्य सगंठनको मापदण्ड पूरा गर्न नसकेर नेपाल औषधि लिमिटेड बन्द भएको थियो । बन्द हुनुपुर्व कम्पनीले १ सय २० प्रकारको औषधि उत्पादन गर्दै आएको थियो ।
अहिले बजारको न्यून माग पनि पूरा गर्न नसकेको कम्पनीले अब छिट्टै क्षमता अभिवृद्धि गरि धेरै भन्दा धेरै औषधि उत्पादन गर्ने योजना बनाएको छ । सरकारबाट बजेट पाएलगत्तै अहिले उत्पादन भइरहेका औषधिको परिमाण बढाउने तथा अबको एक वर्षभित्रमा जुकाको औषधि, कोडिन ट्याब्लेट साथै अन्य औषधिहरुको पनि उत्पादन सुरु गर्ने कम्पनीको योजना छ ।
सरकारी स्वामित्वमा रहेको एकमात्र नेपाल औषधि लिमिटेडको क्षमता वृद्धि गरी औषधि उत्पादन बढाउन सके ग्रामिण भेगका नेपालीले सिटामोल र जीवनजलको समस्या झेल्नुपर्ने थिएन । यसतर्फ सरकार चनाखो हुन जरुरी छ ।




