२५ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनेको खाल्डोमा परेर चारजना बालिकाले ज्यान गुमाएको घटना बारे व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
उक्त घटनाको सत्य तथ्य छानविन गर्नका लागि प्रधानमन्त्रीको निर्देशन अनुसार गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दिपक काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको गृहमन्त्रीले बताए ।
सो समितिले घटनाबारे अध्ययन अनुसन्धान गर्ने काम गरिरहेको जानकारी गराउँदै गृहमन्त्रीले प्रतिवेदनले औल्याएका दोषीलाई कारवाही गरिने प्रतिवद्धता ब्यक्त गरे ।
घटनाको जानकारी पाउनासाथ नजिकैको सुरक्षा पोष्टबाट सुरक्षाकर्मी पुगेर तत्काल दुर्गा निर्माण सेवाको प्रोपराईटरलाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए । पछि उनलाई निर्माण व्यवसायी महासंघको रोहबरमा तारिकमा छाडिएको गृहमन्त्रीले सदनलाई अवगत गराए ।
व्यवस्थापिका संसदको गत आईतबारको बैठकमा एमालेका सांसदहरुले रौतहटको गरुडा घटनाबारे सरकारको जवाफ माग गर्दै सदन चल्न नदिने अडान लिएपछि सभामुखले सरकारलाई रुलिङ गरेकी थिइन् ।