एजेन्सी , ३० फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गर्दै माइक पोम्पेलाई नयाँ विदेश मन्त्रीका रुपमा नियुक्त गरेका छन् । ट्रम्पले टिलर्सनलाई बर्खास्त गर्दै अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक माइक पोम्पेलाई नयाँ विदेश मन्त्रीमा नियुक्त गरे ।
ट्रम्प र टिलर्सनबीच वैचारिक मतभेद रहँदै आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । उत्तर कोरियासँग आगामी मे महिनामा हुन लागेको वार्ताअघि आफ्नो विशेष समूह बलियो बनाउन मन्त्री फेरबदल गरेको ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको वर्ष डिसेम्बरमा नै ट्रम्पले टिलरसनलाई हटाएर पोम्पेलाई विदेश मन्त्री नियुक्त गर्न खोजेको खबर सार्वजनिक भएपनि ह्वाइट हाउसले त्यसको खण्डन गरेको थियो । ट्रम्पले सिआइएको निर्देशकमा गिना हास्पेललाई नियुक्त गरेका छन् ।




