काठमाडौँ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तन नेपालको मात्र भइ सारा पृथ्वीको साझा विषय भएको बताउनुभएको छ । सोमवार काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाण्डु क्लाइमेट एक्शन विकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनले भौगोलिक दूरी मात्रै नहेर्ने भन्दै यसले सबैले साझा महत्व दिएर जलवायु परिवर्तनको असर न्युनिकरण गर्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनको असरले सिमित भूगोललाई मात्रै असर नपर्ने भन्दै सबै देशहरुले जलवायु परिवर्तनको असर न्युनिकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । विश्वको तापक्रम बढेकै कारणले हिमाल पग्लिरहेको र हिमतालहरु फुटिरहेको बताउनु भयो । जलवायु परिवर्तनसँगै दिनहुँ मौसमी चक्रको समेत असर नेपालले खेपिरहेको उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण नेपाली हिमाली समुदायहरुले बाढी, पहिरो, हिमतालको सामना गर्नु परिरहेको जिकिर गर्नुभयो । नदी, कृषि, जीवनशैलीमा यसले ठूलो असर पारिरहेको बताउनु भयो । कार्यवाहक प्रमुख डंगोलले जलवायु परिवर्तनका कारण नेपाल धेरै जोखिममा रहेको बताउनु भयो । –




