काठमाडौँ ।
प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ ।होटल एशोसिएशन नेपाल (हान) ले आईतवारबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवद्र्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएको छ । हानका अध्यक्ष विनायक शाहकाअनुसार नेपालमा भारतीय पर्यटक भित्र्याउने सम्भावना ठूलो भएपनि त्यसअनुसार उपलब्धि हासिल हुन सकेको छैन । हाल वार्षिक औसत तीन लाख भारतीय पर्यटक नेपाल आउने गरेको उल्लेख गर्दै यसलाई दोब्बर बनाउने लक्ष्यका साथ कनेक्टिभिटिका लागि प्रधानमन्त्री साहको भारत भ्रमणका बेला प्रस्ताव गरिनुपर्ने बताउनु भयो । साहले भारतीय पर्यटकको संख्या बढाउन सबैभन्दा पहिले हवाई कनेक्टिभिटी सहज बनाउनुपर्ने बताउनु भयो । उहाँकाअनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्राविधिक व्यवस्थासँगै राजनीतिक तहबाट दुईदेशबीच आवश्यक निर्णय हुनुपर्छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरुजस्ता ठूला सहरसँगै लखनउ, कानपुर, बनारस, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, राजस्थान र गुजरातलगायतका क्षेत्रबाट सिधा हवाई सम्पर्क विस्तार गर्नसके भारतीय पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उहाँको भनाइ छ ।नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई विभिन्न भारतीय सहरबाट नेपालसम्म उडान सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने शाहको सुझाव छ । उहाँले भारतीय पर्यटक नेपाल आउन इच्छुक रहेको तर हवाई सम्पर्क र व्यवस्थापकीय सहजताको अभावले अपेक्षित आगमन हुन नसकेको बताउनु भयो ।
पर्यटन प्रवद्र्धनका लागि धार्मिक पर्यटनलाई पनि विशेष प्राथमिकता दिनुपर्ने हानको प्रश्ताव छ । विशेषगरी अयोध्या र जनकपुरबीच प्रश्तावित रेल सेवा सञ्चालनले नेपालमा धार्मिक पर्यटक भित्र्याउन नयाँ अवसर सिर्जना गर्ने शाहको विश्वास छ । अयोध्या आउने भारतीय तीर्थयात्रीलाई जनकपुरस्थित जानकी मन्दिरसम्म ल्याउन सके धार्मिक पर्यटनको नयाँ मार्ग विस्तार हुने उहाँले बताउनु भयो । तर जनकपुर आउने पर्यटकलाई त्यहीँ सिमित नराखी काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख पर्यटकीय गन्तव्यसम्म पु¥याउने गरी एकीकृत पर्यटन प्याकेज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागि हानको मधेस प्रदेश च्याप्टर, अग्रणी ट्राभल एजेन्सी र पर्यटनसंवद्ध संस्थाहरूसँगको सहकार्यमा आगामी साता बृहत् कार्यक्रम तथा प्याकेज निर्माणको तयारी भइरहेको शाहले जानकारी दिनुभयो । हानले धार्मिक पर्यटनसँगै खेल पर्यटन, माइस पर्यटन, बिजनेस ट्रिप र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमका रूपमा अघि सारेको छ । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल र भारतबीच खेल पर्यटनको सम्भावना देखाएको उल्लेख गर्दै शाहले क्रिकेटलगायतका खेल गतिविधिलाई पर्यटनसँग जोडेर संयुक्त रूपमा प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।त्यसैगरी, सम्पन्न भारतीय परिवारलाई नेपालमा विवाह समारोह आयोजना गर्न आकर्षित गर्ने गरी विशेष प्याकेज र सहज नीतिगत व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ ।
भारतीय कम्पनीहरूलाई नेपालमा व्यावसायिक बैठक, सम्मेलन र अन्य कार्यक्रम आयोजना गर्न प्रोत्साहित गर्नसके माइस पर्यटन र व्यावसायिक भ्रमणसमेत विस्तार हुने उहाँले बताउनु भयो ।शाहले भारतीय सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न पनि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ । यसबाट ठूलो संख्यामा भारतीय सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उहाँको तर्क छ ।नेपाल र भारतबीच यसअघि विभिन्न संयुक्त पर्यटन प्रवद्र्धन समिति तथा संयन्त्रले हिन्दु सर्किट, रामायण सर्किटलगायतका अवधारणा अघि सारे पनि कार्यान्वयन पक्ष कमजोर रहेको शाहको भनाइ छ । उहाँले विगतमा भएका सहमति, अध्ययन र सिफारिसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्रीस्तरबाटै पहल हुनुपर्ने बताउनु भयो ।
पर्यटन विकासमा मधेस प्रदेशको सम्भावनालाई पनि भ्रमणसँग जोडेर अघि बढाउनुपर्ने हानको धारणा छ । जानकी मन्दिरलगायतका धार्मिक स्थल, जल पर्यटन र सीमावर्ती पर्यटनको सम्भावना हुँदाहुँदै मधेसमा अपेक्षित पर्यटन विकास हुन नसकेको शाहले बताउनु भयो । अयोध्या–जनकपुर धार्मिक मार्गलाई व्यवस्थित गर्नसके मधेस प्रदेशसँगै समग्र नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ । हानले प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने यी विषयलाई केवल पर्यटन प्रवद्र्धनमा सीमित नराखी आर्थिक कुटनीतिको महत्वपूर्ण एजेण्डाका रूपमा अघि सार्न आग्रह गरेको छ । शाहकाअनुसार निजी क्षेत्र भारतीय पर्यटकको संख्या तीन लाखबाट ६ लाख पु¥याउने लक्ष्यसहित काम गर्न तयार छ । त्यसका लागि हवाई कनेक्टिभिटी, नीतिगत सहजता र दुई देशबीचका पुराना सहमति कार्यान्वयनमा सरकारी तहबाट ठोस निर्णय आवश्यक छ । नेपाल आउने भारतीय पर्यटकको संख्या बढाउनु मात्रै नभई उनीहरूको बसाई अवधि लम्ब्याउने र खर्च गर्ने क्षमता तथा अवसर विस्तार गर्नेगरी पर्यटन प्याकेज विकास गर्न सके दुवै देशले आर्थिक लाभ लिन सक्ने शाहको भनाई रहेको छ ।





