स्पेनमा दुई द्रुतमार्गी रेल एकापसमा जुध्दा ६४ जनाको मृत्यु, सेवा अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

स्पेनमा दुई द्रुतमार्गी रेल एकापसमा जुध्दा ६४ जनाको मृत्यु, सेवा अवरुद्ध

स्पेनको राजधानी म्याड्रिडबाट करिव १२० किलोमिटर दक्षिणस्थित टोलेडो प्रान्तको उर्दा स्टेसन नजिकै बुधवार बिहान दुईवटा तीव्र गतिका (हाई–स्पीड) रेल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६४ पुगेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बुधवार बिहान करिव ८ बजेर ५४ मिनेटमा भएको उक्त दुर्घटनामा राज्य स्वामित्वको ‘रेन्फे’ कम्पनी र निजी स्वामित्वको ‘इरियो’ कम्पनीका रेलहरू जुधेका हुन् । प्रारम्भिक अनुसन्धान विवरणअनुसार लिकमा रोकिराखिएको इरियोको रेललाई रेन्फेको रेलले तिब्र गतिमा पछाडिबाट ठक्कर दिएको थियो । ठक्करको तिब्रताका कारण रेलका दुईवटा डिब्बा लिकबाट बाहिरिएर भीरबाट तल खसेका छन् । घटनास्थलमा उद्धारकर्मीहरू तिब्र रूपमा परिचालन गरिएका छन् भने घाइतेहरूको उद्धार कार्य जारी छ । यसअघि मृतकको संख्या ५० बताइएकोमा पछि थप शव भेटिएसँगै मृतक संख्या ६४ पुगेको हो । स्पेनस्थित चिनियाँ दूतावासले दुर्घटनाग्रस्त रेलमा चारजना चिनियाँ नागरिक सवार रहेको र तीमध्ये एकजना सामान्य घाइते भएको पुष्टि गरेको छ । दुर्घटनापछि स्पेनको रेलवे पूर्वाधार सञ्चालक ‘अदिफ’ ले म्याड्रिड र अन्डालुसियाबीच सञ्चालन हुने सम्पूर्ण रेल सेवाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै टोलेडोमा भएको गम्भीर दुर्घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले पीडितहरूलाई राहत तथा उद्धारका लागि आपत्कालीन निकायहरू पूर्ण रूपमा परिचालित गरिएको उल्लेख गर्नुभएको छ । दुर्घटनाको शोकमा स्पेनभरका राजनीतिक दलहरूले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण राजनीतिक कार्यक्रमहरू रद्ध गरेका छन् । स्पेनमा पछिल्ला महिनाहरूमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो । यसअघि नौ महिनापहिले दक्षिणी प्रान्त कोर्डोबाको आदागुज नजिकै भएको रेल दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए ।

Leave a Reply

ताजा समाचार