भारतको गुजरातमा ट्रक र यात्रुवाहक गाडी ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

भारतको गुजरातमा ट्रक र यात्रुवाहक गाडी ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

भारतको पश्चिमी राज्य गुजरातको कच्छ जिल्लामा भएको भीषण सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । यात्रुवाहक सवारीसाधन र ट्रक एकआपसमा ठोक्किँदा सो मानवीय क्षति भएको स्थानीय प्रहरी प्रशासनले पुष्टि गरेको छ । स्थानीय प्रहरी अधिकारीहरूकाअनुसार दुर्घटना कच्छ जिल्लास्थित खावडा नवीकरणीय ऊर्जा पार्क क्षेत्र नजिकै भएको हो । तिब्र गतिमा रहेको ट्रकले मजदुरहरू सवार यात्रुवाहक गाडीलाई अगाडिबाट सिधै ठक्कर दिएको थियो । दुर्घटनाग्रस्त यात्रुवाहक सवारीसाधनमा चालकसहित झण्डै ३२ जना सवार रहेका थिए । तीमध्ये अधिकांश स्थानीय परियोजनामा कार्यरत श्रमिकहरू रहेको खुलेको छ । प्रत्यक्षदर्शी तथा उद्धारकर्मीहरूका अनुसार ठक्कर यति शक्तिशाली थियो कि यात्रुवाहक गाडी नराम्ररी क्षतिग्रस्त भएको छ । घटनालगत्तै खटिएको सुरक्षाकर्मी र उद्धार टोलीले घाइतेहरूलाई उद्धार गरी तत्काल नजिकैको स्थानीय अस्पताल पु¥याएको थियो । अस्पताल प्रशासनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने जोखिम छ । प्रहरीले मृतक सबैको सनाखत भइसकेको र आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवहरू परिवारजनलाई बुझाउने तयारी भइरहेको जनाएको छ । दुर्घटनाको यकिन कारण पत्ता लगाउन र ट्रक चालकको अवस्थाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply