काठमाडौं ।
काठमाडौं उपत्यकाको मुख्य सांस्कृतिक पर्व इन्द्रजात्रा आज विविध धार्मिक र परम्परागत अनुष्ठानका साथ मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको सम्मानमा गरिने यो जात्राले उपत्यकाको नेवार समुदायको संस्कृति र इतिहासलाई जीवन्त तुल्याएको छ । आज वसन्तपुर दरबार क्षेत्रमा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा निकालिनेछ । भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा उपत्यकाको सबैभन्दा ठूलो र महत्वपूर्ण जात्रामध्ये एक हो । परम्पराअनुसार इन्द्रध्वजोत्थानसँगै शुरु भएको यो जात्राको आजको मुख्य दिनमा राष्ट्रप्रमुखको उपस्थितिमा जीवित देवी कुमारीको रथयात्रा गरिनेछ । सयौँ वर्ष पुरानो यो परम्परालाई निरन्तरता दिँदै स्थानीय बासिन्दाहरूले बाजागाजा र सांस्कृतिक नृत्यसहित रथ तान्ने कार्यमा संलग्न हुनेछन् ।




