बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

बाढीको पीडाबीच तीज, पशुपतिमा भक्तजनको भीड; ‘यसपालि रौनक कम छ’

काठमाडौँ ।

हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रीमानको दीर्घायु, पारिवारिक सुखशान्ति तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै व्रत बसेर पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु महिला तथा भक्तजनहरू लामवद्ध भएर पूजाआराधना गरिरहेका छन् । यसपटक भने विगतका वर्षको तुलनामा तीजको रौनक केही कम देखिएको भक्तजनहरूले बताएका छन् । देशका विभिन्न स्थानमा आएको बाढी तथा विपद्बाट ठूलो जनधनको क्षति भएकाले उत्सवको माहौलमा समेत त्यसको प्रभाव परेको उनीहरूको भनाइ छ । पशुपति दर्शनका लागि आउनुभएकी सिर्जना गिरीले देशमा पछिल्लो समय भएका दुःखद् घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनेर पशुपतिनाथसँग प्रार्थना गरेको बताउनु भयो । उहाँले तीज महिलाहरूका लागि विशेष पर्व भएको र परम्परादेखि नै श्रीमान्को दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन रहेको बताउनु भयो । त्यस्तै, मीरा लोहनीले यसपटक पशुपतिनाथको दर्शन सहज भएको बताउनु भयो । विगतमा लामो समय लाइन बस्नुपर्ने भएपनि यसपालि सहज रूपमा दर्शन गर्न पाएको उहाँको भनाइ छ ।

कृष्णा बस्यालले भने देशमा विपद्का कारण तीजको खुशी मनमा नरहेको बताउनु भयो । बाढीपहिरोका कारण घरबार गुमाएका, आफन्त तथा छोराछोरी हराएका परिवारको पीडाले आफूहरूलाई समेत दुःखी बनाएको उहाँले बताउनु भयो । उहाँकाअनुसार विपद्का कारण यसपटक विगतको तुलनामा पशुपतिनाथमा भक्तजनको चाप पनि केही कम देखिएको छ । पशुपतिनाथ दर्शनका लागि आउनुभएकी अर्की एक भक्तजन निरु गिरीले तीज धार्मिक तथा सांस्कृतिक परम्पराको महत्वपूर्ण पर्व भएकाले आधुनिकतासँगै आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार अविवाहित महिलाले असल तथा सर्वगुण सम्पन्न जीवनसाथीको कामना गर्दै र विवाहित महिलाले श्रीमान तथा परिवारको स्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने परम्परा छ । विमला न्यौपानेले पनि श्रीमानको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै आफू व्रत बसेर पशुपतिनाथ आएको बताउनु भयो । उहाँले देशमा शान्ति कायम होस्, सबैको सुख, शान्ति र समृद्धि होस् तथा विपद्मा परेकाहरूको शिघ्र उद्धार होस् भन्ने कामना गर्नुभयो । संगीता केसीले तीजमा रातो पहिरन, सिन्दुर, टीका र पोते लगाउने परम्परा रहेको बताउँदै यसपटक भने बाढीपीडितको पीडाका कारण विगतजस्तो रमाइलो वातावरण नरहेको बताउनु भयो ।

अर्की भक्तजन कल्पना नेपाल भट्टराईले आफ्नो संस्कृतिलाई सधैँ जोगाउनुपर्ने बताउनु भयो । आधुनिकतिर जति लागे पनि कला र संस्कृति, धरोहर, सम्पती भएकाले जोगाइरहनुपर्ने बताउनु भयो । यस वर्ष तीजमा पशुपतिनाथमा दर्शन गर्न सहज रहेको बताउनु भयो । भक्तजनहरूले यसपटक तीजको व्रत तथा पूजाआराधनासँगै बाढी तथा विपद्बाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन् । देशका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्को पीडा कायम रहे पनि तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै महिलाहरू बिहानैदेखि शिवालयमा पुगेर पूजाआराधना गरिरहेका छन् ।

Leave a Reply