भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

भदौ २४ लाई सम्झँदै दाहालले भने– एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण मलाई थाहा छैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनालाई नेपालको इतिहासकै गम्भीर र रहस्यमय घटनाका रूपमा चित्रण गर्दै त्यसको बहुआयामिक अनुसन्धान गर्नुपर्ने माग गर्नुभएको छ ।
भदौ २४ को घटनाको स्मरण गर्दै दाहालले सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी संरचना तथा निजी भवनहरू केही घण्टामै ध्वस्त पारिएको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यस्तो स्तरको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको बताउनु भयो । दाहालले घटनाको वास्तविक दोषी र विध्वंस मच्चाउने तत्वको पहिचान गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार घटना भएको एक वर्ष बितिसक्दा पनि त्यस दिशामा अपेक्षित काम हुन सकेको छैन । उहाँले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनको दिशामा अघि नबढेको आरोप लगाउनु भयो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो दराजमा थन्क्याउने काम भएको उहाँको भनाइ छ । दाहालले भदौ २३ गते युवाहरूले सुशासन र पारदर्शिताका लागि उठाएको आवाज र त्यसको भोलिपल्ट भएको घटनाक्रमलाई फरक ढंगले बुझ्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार भदौ २४ को घटनाले युवाहरूको भावना र आकांक्षालाई प्रतिनिधित्व नगरी भदौ २३ को आन्दोलनलाई अपहरण र कब्जा गर्ने शक्तिको हालीमुहाली देखाएको छ । ‘भदौ २४ को घटना रहस्यमय छ’ भन्दै दाहालले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामसमेत रहेको बताउनु भयो । उहाँले वर्तमान भू–राजनीतिक परिवेशलाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय आयामबाट समेत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । राष्ट्रिय दृष्टिकोणबाट सुरक्षा निकायको भुमिका, राजनीतिक नेतृत्वको भुमिका लगायत घटनासँग जोडिएका सबै पक्षबारे गहिरो अनुसन्धान हुनुपर्ने दाहालको भनाइ छ । दाहालले नेपालको इतिहासमा एकै दिन यति ठूलो विध्वंस नियोजित रूपमा भएको अर्को उदाहरण आफूलाई थाहा नभएको बताउनु भयो । उहाँले अहिलेको अवस्थालाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि सुगौली सन्धिपछिको सबैभन्दा ठूलो संकटका रूपमा समेत व्याख्या गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज भदौ २४ गते । गत वर्ष आजकै दिन नेपालको इतिहासमा अत्यन्त रहस्यमय र भयानक विध्वंश भयो। सयौँ वर्षमा निर्माण भएका ऐतिहासिक धरोहर, राजनीतिक दलका कार्यालय, सरकारी तथा निजी संरचनामाथि केही घण्टामै भएको यो विध्वंश गम्भीर अनुसन्धानको विषय हो । नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक आन्दोलन र नेपाली जनताको आकांक्षामाथि भएको यो स्तरको प्रहारको वास्तविक दोषी को हुन् भन्ने तथ्यपूर्ण अनुसन्धान हुनैपर्छ । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनसमेत कार्यान्वयनतर्फ अघि बढ्न नसक्नु दुःखद् छ । भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको आकांक्षालाई भदौ २४ को घटनाले प्रतिनिधित्व गरेन; बरु त्यो आन्दोलनलाई अपहरण र कब्जा गर्ने प्रवृत्ति हावी भएको देखिन्छ । यस घटनाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयाम रहेकाले सुरक्षा निकाय, राजनीतिक नेतृत्वलगायत सबै पक्षको निष्पक्ष र गहिरो अनुसन्धान आवश्यक छ । भदौ २४ को घटनाले नेपालको राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले घटनाको बहुआयामिक अनुसन्धान गरी दोषी पहिचान र कारबाही गर्न तथा संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई थप सुदृढ बनाउन सबै राजनीतिक शक्ति, देशभक्त र आम नेपाली जनता एकतावद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । हाम्रो पार्टीले भदौ २३ र २४ का घटनालाई कसरी बुझ्ने भन्नेबारे आजै प्रेस वक्तव्यमार्फत आफ्नो धारणा स्पष्ट गरेको छ । उक्त वक्तव्यको अध्ययन गर्न सबैमा हार्दिक अपिल गर्दछु ।’
उहाँकाअनुसार पछिल्लो घटनाक्रमले नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको अनुभूति गराएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानमाथि निरंकुशताको प्रहार भएको र भदौ २४ को घटनाक्रमले संविधानलाई कमजोर बनाएको उहाँले बताउनु भयो । दाहालले घटनाको बहुआयामिक अध्ययन तथा अनुसन्धान गरी दोषी पहिचान गरेर कुनै आग्रह–पूर्वाग्रहबिना कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो । संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई अझ सुदृढ बनाउन देशका सबै राजनीतिक शक्ति, देशभक्त तथा आम नेपाली जनता एक भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply