अफगानिस्तानमा यातायात क्षेत्रको डिजिटलीकरणः अनलाइनबाटै बस टिकट बुकिङ सुविधा शुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

अफगानिस्तानमा यातायात क्षेत्रको डिजिटलीकरणः अनलाइनबाटै बस टिकट बुकिङ सुविधा शुरु

अफगानिस्तानको राजधानी काबुलमा एक युवा महिला उद्यमीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अनलाइन बस टिकट बुकिङ सेवा शुरु गरेकी छन् । सदफ अफगानले सञ्चालनमा ल्याएको क्युएएसआइटीडटएएफ नामक अनलाइन प्लेटफर्मले यात्रुहरूलाई बस टर्मिनलसम्म जानुपर्ने झन्झटबाट मुक्त गर्दै घरमै बसेर टिकट बुक गर्ने सुविधा प्रदान गरेको छ । करिव एक वर्षअघि विकास गरिएको यो प्लेटफर्म पाँच महिनाअघि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । शुरुमा तीन जनाको टोलीबाट शुरु भएको यस स्टार्टअपमा हाल आठ जना कर्मचारी कार्यरत छन्, जसमा चार जना महिला रहेका छन्। यस संस्थाले अनलाइनमार्फत टिकट बुक गर्ने र ग्राहकको घरदैलोमै टिकट पु¥याउने सेवा दिँदै आएको छ ।
संस्थाकी संस्थापक सदफ अफगानले आफ्नो व्यवसायको मुख्य लक्ष्य सेवा विस्तार गरी प्रान्तहरूमा पनि शाखा खोल्नु र महिला तथा पुरुष दुवैका लागि रोजगारीका अवसर सिर्जना गर्नु रहेको बताइन् । उनले भनिन्, ‘कुनै पनि व्यवसाय सुरु गर्नु प्रारम्भिक चरणमा चुनौतीपूर्ण हुन्छ, तर हामीले हार मान्नु हुँदैन । सरकारले नयाँ स्टार्टअपहरूलाई सहयोग गरेमा हामी अझै प्रगति गर्न सक्छौँ ।’
अफगानिस्तानमा रेल नेटवर्क वा मेट्रो प्रणालीको अभावका कारण अन्तरशहर यातायातका लागि सडक मार्ग नै प्रमुख माध्यम हो । यहाँ ४५० किलोमिटरको दूरी पार गर्न सडकको अवस्था र ट्राफिकका कारण कम्तीमा १० घण्टा लाग्ने गर्दछ । यस्तो अवस्थामा डिजिटल सेवाले यात्रुहरूको यात्रा अनुभवलाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ ।
यस कम्पनीले परम्परागत रोजगारीको दायरालाई तोड्दै महिलाहरूलाई पनि चुनौतीपूर्ण भूमिकामा अवसर दिएको छ । २० वर्षीया तमन्ना मोहम्मदी यसको एक उदाहरण हुन् । उनी दैनिक मोटरसाइकल चलाएर ग्राहकहरूको ठेगानामा टिकट पु¥याउने कार्यमा संलग्न छिन् । ‘मानिसहरूको सेवा गर्न पाउँदा मलाई गर्व लाग्छ । अब हाम्रा देशवासीहरूले बसको टिकटका लागि टर्मिनलसम्म धाइराख्नु पर्दैन ।’ मोहम्मदीले बताइन् ।
आगामी दिनमा आफ्नो सेवालाई हवाई टिकट बुकिङसम्म विस्तार गर्ने लक्ष्य राखेको छ, जसले गर्दा सर्वसाधारणले घरमै बसेर हवाई उडानको टिकट समेत प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

ताजा समाचार