रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनुभएको छ । पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनुभएको हो । २०६२÷६३ को परिवर्तनपछि नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दाबी छ । उहाँले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताउनु भयो । उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाउनु भयो । सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ । सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दाबी गर्नुभयो । उहाँले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताउनुभयो ।

बाह्य शक्तिको प्रभाव भएपनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उहाँको भनाई छ । उहाँले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताउनु भयो । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताउनु भयो । वर्तमान सरकारका नीतिका कारण सुकुम्बासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उहाँको भनाई छ ।उहाँले सबै कम्युनिस्ट शक्तिहरु एकतावद्ध भएर नयाँ ढंगले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । विगतका कमी कमजोरी सच्याएर अगाडी बढेमा कम्युनिष्ट पार्टीले सफलता हासिल गर्ने उहाँको भनाई छ ।

Leave a Reply