काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजनीतिक दलभित्र सत्तामा पुग्नुलाई मात्रै सफलता मापन गर्ने आधार बनेको बताउनुभएको छ । आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले राजनीतिक दलभित्र सफलता मापन गर्ने आधार नै गलत बनेको बताउनुभएको हो । उहाँले कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा राजनीतिक सफलता मापन गर्दा दलहरू असफल मान्छे उत्पादन गर्ने कारखाना जस्तो बन्ने टिप्पणी गर्नुभयो । राजनीतिक दलभित्र पद र शक्तिलाई नै सफलताको मुख्य मापदण्ड बनाइएका कारण अधिकांश नेता असन्तुष्ट र निराश रहेको उहाँको भनाई छ । उहाँकाअनुसार अहिले पदमा रहेका व्यक्ति पद गुम्ने चिन्तामा र पदबाट बाहिरिएका व्यक्ति पुनः पदमा पुग्न नसकिने चिन्तामा रहेका छन् । उहाँले काँग्रेस र एमाले दुवै दलमा यस्तो प्रवृत्ति देखिएको दाबी गर्नुभयो ।
उहाँले पुरानासँगै नयाँ पुस्तामा पनि प्राप्तिलाई मात्र महत्व दिने प्रवृत्ति बढेको आरोप लगाउनु भयो । यसले राजनीतिक संस्कारमा थप विचलन ल्याउने उहाँको भनाइ छ । उहाँले राजनीतिक दलको ‘आत्मा’ नेताको घरमा नभई पार्टीका लागि लामो समय संघर्ष गरेका परिवारहरूको कथामा खोजिनुपर्ने बताउनु भयो । नेपाली काँग्रेसमा योगदान गरेका परिवारहरूको इतिहास खोजेर त्यसलाई पार्टीसँग पुनः जोड्न आफू इच्छुक रहेको उहाँको भनाई छ । सभापति थापाले सञ्चारमाध्यमलाई समेत राजनीतिक पद र शक्तिमा रहेका व्यक्तिका अभिव्यक्तिलाई मात्र केन्द्रमा नराख्न आग्रह गर्नुभयो ।




