जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले जेन–जी आन्दोलनका क्रममा नष्ट भएका स्रेस्ताको अभिलेख बैंक स्टेटमेन्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिने बताउनुभएको छ ।
जेन–जी आन्दोनका कारण जलेका स्रेस्ता सम्बन्धमा सार्वजानिक लेखा समितिमा भएको छलफलमा उहाँले नष्ट भएका श्रेस्ताका कारण रुजु हुन नसकेको कारोबारलाई बैंक विवरण तथा विद्युतीय प्रणालीका आधारमा पुनः अभिलेखीकरण गर्न सकिने बताउनुभएको हो । उहाँले स्रेस्ता नष्ट हुँदा करिव १ खर्ब ४७ अर्ब ८९ करोड ६९ लाख ९० हजार बराबरको रकमको लेखापरीक्षण हुन नसकेको जानकारी दिनुभयो । उहाँकाअनुसार उक्त रकमलाई कसरी प्रमाणित गर्ने भन्ने विषयमा छुट्टाछुट्टै प्रकृतिका कारोबारलाई आधार बनाएर अघि बढ्नुपर्ने अवस्था छ । सरकारी खर्चअन्तर्गत विनियोजन खर्च, धरौटी, पेश्की, जिन्सी तथा विभिन्न प्रयोजनका लागि खोलिएका विविध खाताको अभिलेख फरक–फरक तरिकाले पुनः कायम गर्न सकिने उहाँको भनाई छ । रायाका अनुसार विनियोजनतर्फ खर्च भइसकेको रकमको बैंक खाताबाट भएको भुक्तानीको विवरण अहिले पनि बैंक स्टेटमेण्टबाट प्राप्त गर्न सकिन्छ । खर्चसँग सम्बन्धित मूल कागजात जलेर नष्ट भएपनि बैंकबाट रकम कहाँ र कुन शिर्षकमा भुक्तानी भएको थियो भन्ने विवरण लिएर सम्बन्धित समितिमार्फत प्रमाणित गर्न सकिने उहाँले बताउनु भयो । यस्तै धरौटीको हकमा सम्बन्धित व्यक्ती वा संस्थाको नाम र रकम पहिचान गर्न बैंक तथा उपलब्ध अभिलेख प्रयोग गर्न सकिने उहाको भनाई छ । पुराना धरौटीको विवरण नखुलेमा सार्वजनिक सूचना जारी गरेर दाबी तथा प्रमाण पेस गर्न आह्वान गर्न सकिने उहाँको भनाई छ । पेश्कीको हकमा पनि म्याद नाघेको र ननाघेको रकमको विवरण बैंक तथा उपलब्ध वित्तीय अभिलेखबाट पहिचान गर्न सकिने उहाँले जानकारी दिनुभयो । त्यसैगरी विभिन्न प्रयोजनका लागि खोलिएका खातामा रहेको रकमको विवरण पनि बैंक स्टेटमेण्टबाट निकालेर प्रमाणित गर्न सकिने उहाँको भनाइ छ । उहाँले स्रेस्ता नष्ट भएको भन्दै सबै रकम एकैपटक मिनाहा गर्नु उपयुक्त नहुने पनि बताउनु भयो । सबै मिनाहा भन्दा धरौटी के गर्ने, पेश्की के गर्ने भन्ने कुरा आउन सक्ने उहाँको भनाई छ ।
उहाँकाअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४६ र सोअन्तर्गतको नियमावली, २०७७ को नियम १११ मा प्राकृतिक प्रकोप तथा दुर्घटनाबाट श्रेस्ता र जिन्सी सामान नष्ट भएमा मिनाहासम्बन्धी व्यवस्था गरिएको छ ।

Leave a Reply

ताजा समाचार